सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरूप नगरपालिका २ महादेवपट्टीकी २८ वर्षीया आरतीकुमारी राम आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै, कञ्चनरूप नगरपालिका ३ स्थित झुलुङ्गे पुलमा ३० वर्षीय भरत साह मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज धिमिरेका अनुसार दुवै घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । स्थानीयका अनुसार भरत साह विगत तीन वर्षदेखि कञ्चनरूप नगरपालिका ३ मा घरज्वाइँका रूपमा बस्दै आएका थिए । उनी नजिकै रहेको एक कृषि फार्ममा मजदुरी गर्दै आएका थिए ।
प्रहरीले दुवै घटनाको कारण खुलिनसकेको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।




