काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । बिहीबार भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले सुरूवाती गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा भारतका लागि अनिरुध थापाले १-१ काे बराबरी गोल फर्काए ।
भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए। त्यहि रिबाउन्ड बलमा थापाले गोललाइनबाट पोस्टको जाली चुमाएका थिए ।
अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ ।
नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् ।






