वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका ३ का वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले सोमबार पटेललाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनकै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो ।
डीएसपी चक्र मल्लका अनुसार गत २३ असारमा कालिकामाई गाउँपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्ष पटेललाई पक्राउ गरिएको हो ।
घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोध जनाउँदै आएका थिए । कर्मचारीहरूले कार्यालयभित्रै कार्यरत कर्मचारीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धान जारी छ ।




