काठमाडौं । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १७ बस्ने ३२ वर्षीया पूजा शाही, काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ बस्ने सप्तरीको बोदेबरसाइन नगरपालिका ३ घर भएका २० वर्षीय दीपक साह, काठमाडौं महानगरपालिका ९ बस्ने सर्लाहीको बसबरिया गाउँपालिका ३ घर भएका ४१ वर्षीय जयमंगल प्रसाद निषाद तथा काठमाडौं महानगरपालिका ३२ बस्ने रामेछापको मन्थली नगरपालिका ३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पूजा शाहीले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ, दीपक साहले फ्रान्स पठाइदिने भन्दै ५ लाख रुपैयाँ, जयमंगल प्रसाद निषादले ब्रुनाई पठाइदिने भन्दै ४ लाख ३८ हजार रुपैयाँ तथा मिना श्रेष्ठ खत्रीले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
पीडितहरूबाट रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा पूजा शाहीलाई काठमाडौं महानगरपालिका १२ बाट र दीपक साहलाई गोकर्णेश्वर नगरपालिका ६ बाट सोमबार पक्राउ गरिएको थियो ।
त्यस्तै जयमंगल प्रसाद निषादलाई काठमाडौं महानगरपालिका ९ बाट तथा मिना श्रेष्ठ खत्रीलाई काठमाडौं महानगरपालिका ३२ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।






