जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवानाको फैसला भई फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत बुधबार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष खोजी अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि धनुषा जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् । यसबाहेक चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गालीबेइज्जती र सवारी अङ्गभङ्गलगायत विभिन्न मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् ।
उनीहरूमाथि अदालतले ६ दिनदेखि ४ वर्षसम्म कैद सजाय तथा ५०० रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।




