महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १२ बिजलपुरास्थित चल्कीमा सर्पदंशका कारण एक ८ वर्षीय बालकको मृत्यु भएको छ । उपचारका लागि लागेको खर्च तिर्न नसक्दा परिवारले अस्पतालबाट शव समेत बुझ्न नसकेको जनाएको छ ।
स्थानीय चन्दन कापरका छोरा विवेक कापरलाई बुधबार साँझ घर नजिकैको आँपको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो । गम्भीर अवस्थामा उनलाई तत्काल बर्दिबास जनसेवा अस्पताल लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बिहिबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बालककी आमा अमृतदेवी कापरले समयमै अस्पताल पुर्याएर उपचार गराए पनि छोराको ज्यान जोगाउन नसकिएको बताइन् । परिवारका अनुसार उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको छ । अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा मृतकको शव अस्पतालबाट लैजान समेत नसकिएको हो ।
बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले पीडित परिवारको आर्थिक अवस्था बुझेर उपचार शुल्कमा १५ प्रतिशत छुट दिइएको जानकारी दिए । अस्पतालले मानवीय संवेदनालाई ध्यानमा राखेर आवश्यक सहजीकरण गरिरहेको उनले बताए ।
घटनापछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलगायतका जनप्रतिनिधि अस्पताल पुगेका थिए । उनीहरूले पीडित परिवारको अवस्थाबारे जानकारी लिएका थिए ।
स्थानीयवासीले आर्थिक अभावका कारण उपचार र शव व्यवस्थापन समेत कठिन हुने अवस्था अन्त्य गर्न विपन्न परिवारका लागि तत्काल राहत तथा उपचार सहायता उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।






