रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित हिलेखोला माथिको चुरे वन क्षेत्रमा सालको रुख काटेर चिरान गरिरहेका काठ तस्करहरू वन गस्ती टोलीको उपस्थितिपछि काठ नै छाडेर फरार भएका छन् ।
डिभिजन वन कार्यालय रौतहटका अनुसार गैडाटार सब–डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा जंगलमा निगरानी गर्ने क्रममा तस्करहरूलाई सालको रुख काटेर चिरान गरिरहेको अवस्थामा फेला पारेको थियो ।
वन कर्मचारीले चारैतर्फबाट घेरा हालेर नियन्त्रणमा लिन प्रयास गरे पनि तस्करहरू जंगलको दुर्गम भूभागको फाइदा उठाउँदै भाग्न सफल भएका हुन् । घटनास्थलबाट साल जातका पाँच थान गोलिया काठ बरामद गरिएको छ ।
बरामद काठको परिमाण ३०.२४ क्युबिक फिट रहेको वन कार्यालयले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न काठ डिभिजन वन कार्यालय रौतहटमा ल्याइएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी अभियान तीव्र पारिएको जानकारी दिए । उनका अनुसार दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढाइएको छ ।
पछिल्ला केही महिनायता रौतहटका वन क्षेत्रमा काठ चोरी तथा तस्करीका गतिविधि बढ्दै गएको जनाइएको छ । वन कार्यालयले नियमित गस्ती, निगरानी र नियन्त्रणका अभियानलाई तीव्र बनाएको भएपनि चुरे क्षेत्रमा अवैध काठ कटानी पूर्ण रूपमा रोक्न अझै चुनौती कायम रहेको जनाएको छ ।




