सप्तरी । प्रहरीले सप्तरीबाट ३ हजार ३३२ किलोग्राम अवैध गाँजा बरामद गरेको छ । बरामद गरिएको गाँजा तीन वटा सवारी साधनमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राति तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीन वटा सवारी साधनमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो ।
बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कार्पियोबाट १९ बोरा, प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । तीनवटै सवारीबाट बरामद गाँजाको कुल तौल ३ हजार ३३२ किलोग्राम रहेको छ ।
प्रहरीले गाँजासहित तीनवटै सवारी साधन नियन्त्रणमा लिएपनि चालकहरू भने फरार भएका छन् । उनीहरूको खोजीका साथै गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




