रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बलको भूमिकामाथि फेरि प्रश्न उठेको छ । बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहरासँग सम्बन्धित भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन गर्न स्थानीयवासी र व्यापारीहरूले माग गरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको अडियोमा तस्करीका लागि बाटो सहज बनाउने विषयमा संवाद भएको दाबी गरिएको छ । यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि भने कुनै निकायबाट भएको छैन । त्यसैले अडियोको सत्यता र प्रामाणिकता परीक्षण गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
सीमावर्ती क्षेत्रका व्यापारीहरूका अनुसार दैनिक उपभोगका लागि ल्याइने साना सामानमा कडाइ गरिए पनि संगठित तस्करीमा संलग्न समूहहरू भने सक्रिय रहेको आरोप छ । उनीहरूका अनुसार सरमुजवा, खापलगायत सीमा नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक, हार्डवेयर तथा कवाडजन्य सामाग्री अवैध रूपमा नेपाल भित्रिने क्रम अझै रोकिएको छैन ।
व्यापारीहरूले प्रस्तावित भन्सार गुल्म गौरको नेतृत्वमा तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको दाबी समेत गरेका छन् । जिल्ला भन्सार कार्यालय गौरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरीले करिब ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको थियो ।
सोही अवधिमा नेपाल प्रहरीले भने ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको तथ्यांक सार्वजनिक भएको छ । रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर ११ गण, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सीमा सुरक्षा पोस्ट परिचालनमा छन् ।
यति ठूलो सुरक्षा संयन्त्र हुँदा हुँदै पनि राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणमा अपेक्षित सफलता हासिल हुन नसकेको भन्दै स्थानीयले सुरक्षा निकायको कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गर्न र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन् । यसबारे सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले सार्वजनिक भएको अडियोबारे जानकारी संकलन भइरहेको र तथ्य बुझिसकेपछि आवश्यक प्रतिक्रिया दिइने बताएका छन् ।




