काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) आयोजनामा अनियमितता र भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापालगायत सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भरत ताल आयोजनाको दोस्रो चरणको निर्माण कार्यमा ठेक्का प्रक्रिया मिलेमतोपूर्ण ढंगले सञ्चालन गरी प्रतिस्पर्धा सीमित गरिएको, निश्चित निर्माण कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्रका सर्त तय गरिएको तथा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याइएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।
अनुसन्धानबाट पहिलो चरणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा समावेश नभएका तथा आवश्यकता र औचित्य पुष्टि नभएका संरचना दोस्रो चरणमा थप गरी सरकारी स्रोत–साधनको दुरुपयोग गरिएको आयोगको दाबी छ ।
यस्तै, दोस्रो चरणको ठेक्कामा प्रतिस्पर्धा सीमित गर्ने उद्देश्यले बोलपत्रका मापदण्ड जटिल बनाइ बिकोई/धुलिखेल जेभीलाई अनुकूल हुने गरी ठेक्का सम्झौता गरिएको आरोप पनि आयोगले लगाएको छ ।
अख्तियारले उक्त प्रकरणमा संलग्नहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाही र बिगो असुलको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।






