झापा । झापा प्रहरीले दुई महिनाको शिशुको डाइपरभित्र लुकाएर भारतबाट ब्राउन सुगर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा एक दम्पतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका ५ स्थित बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको किसनगञ्ज जिल्ला स्थायी घर भई हाल बिर्तामोड नगरपालिका ५ बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन तथा सोही स्थानका ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोहित र जेनेतुनले आफ्नै दुई महिनाका छोरा सोहेल आलमलाई प्रयोग गर्दै भारतको गलगलियाबाट ब्राउन सुगर नेपाल ल्याएका थिए ।
उनीहरू मे १ ह ५०११ नम्बरको अटोमा बिर्तामोडबाट भद्रपुर नाका पुगेका थिए । अटो मेची पुल नजिक पार्किङ गरी भारततर्फ गएको र त्यहाँबाट लागुऔषध खरिद गरेर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
भारतबाट ल्याइएको ब्राउन सुगर शिशुले लगाएको डाइपरभित्र लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । चेकजाँचका क्रममा डाइपरभित्रबाट ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई शिशुसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।






