सिरहा । सिरहामा लागुऔषध कारोबारको आरोपमा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेका ६ जनामध्ये एक जना व्यक्ति हत्या मुद्दामा दोषी ठहर भई कारागारबाट फरार भएका अभियुक्त रहेको खुलेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले बिहीबार लहान नगरपालिका ३ अस्पताल चोकबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा भारतका २२ वर्षीय विद्यानन्द यादव तथा सप्तरीका मो. नसिर, शम्भुप्रसाद यादव, मो. जमाहिर आलम, मो. इमामुदिन र वैधनाथप्रसाद यादव रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा समूहले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि सुरुआतमा पाँच राउन्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
घटनामा मो. नसिरको बायाँ खुट्टा र भारतीय नागरिक विद्यानन्द यादवको दायाँ खुट्टामा गोली लागेको थियो । उनीहरूको साथबाट २४३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार घाइते अवस्थामा पक्राउ परेका मो. नसिर सप्तरीमा भएको एक हत्या प्रकरणमा २५ वर्ष कैद सजाय पाएका दोषी हुन् । उनी सुनसरीस्थित झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका बेला जेलबाट फरार भएका थिए ।
प्रहरीका अनुसार कारागारबाट फरार भएपछि नसिर पुनः लागुऔषध कारोबारमा सक्रिय भएका थिए । उनले २०७८ असोज ८ गते सप्तरीको शम्भुनाथ नगरपालिका १ का रामसुन्दर महतोको हत्या गरी शव खाँडो खोलाको पोखरीमा फालेको अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए ।
उक्त हत्या प्रकरणमा नसिरसँगै विष्णुपुर गाउँपालिका ५ की देवी महतो र डाक्नेश्वरी नगरपालिका ७ का रोशन साहलाई पनि दोषी ठहर गर्दै अदालतले २०८० वैशाख ३१ गते जनही २५ वर्ष कैद सजाय सुनाएको थियो ।
अनुसन्धानका क्रममा रामसुन्दरकी श्रीमती देवी महतो र नसिरबीच विवाहेत्तर सम्बन्ध रहेको र सोही योजनाअनुसार हत्या गरिएको खुलेको थियो । प्रहरीका अनुसार नसिर यसअघि भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) सँग पनि आबद्ध रहेका थिए ।
हतियार सम्बन्धी मुद्दामा यसअघि कारागार सजाय भुक्तान गरिसकेका उनी पछिल्लोपटक झुम्का कारागारबाट फरार भएपछि पुन: आपराधिक गतिविधिमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




