सर्लाही । भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार ढकाल र चौधरीले मिलेमतोमा बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दु:ख हैरानी दिँदै घुस मागेको भन्ने सूचनाका आधारमा विशेष निगरानी गरिएको थियो । सोही क्रममा उनीहरू घुस रकम बुझिलिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनाको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको अख्तियारले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।






