सिरहा । सर्पदंशबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा लापरवाही भएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।
प्रहरीका अनुसार भगवानपुर गाउँपालिका ४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकका आफन्त र स्थानीयले स्वास्थ्य केन्द्रले समयमै थप उपचारका लागि अन्यत्र रिफर नगरेको तथा एम्बुलेन्स उपलब्ध गराउन ढिलाइ गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्षको अनुमति आवश्यक पर्ने बताएपछि बिरामीलाई अस्पताल लैजान ढिलाइ भएको थियो ।
बालकको मृत्युको खबर फैलिएपछि स्थानीय आक्रोशित बनेका थिए । प्रदर्शनकारीले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी राजमार्गमा टायर र दाउरा बालेर सडक अवरुद्ध गरेका छन्, जसका कारण केही समय यातायात प्रभावित भएको थियो ।
स्थानीयका अनुसार गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भएपनि उनी उपस्थित नभएपछि आन्दोलन थप उग्र बनेको हो । घटनापछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।




