सर्लाही । सर्लाहीको बलरा नगरपालिका ७ डुमरियास्थित एक कुखुरा फर्मबाट करिब ३२० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद भएको छ । गाँजासहित सोही स्थानका २८ वर्षीय अमरजित राउत पक्राउ परेका छन् ।
शनिबार दिउँसो प्रहरी चौकी मधुवनीगाउँबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कुखुरा फर्ममा खानतलासी गरेको थियो । सो क्रममा १९ वटा पोकामा लुकाइराखिएको करिब ३२० किलोग्राम गाँजा फेला परेपछि राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट बा.प्र.०१–०२६ च २८८६ नम्बरको गाडी, बिआर ०६ बिवाई १७६१ नम्बर तथा लु. ४७ प २५२८ नम्बरका दुई मोटरसाइकल समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






