रौतहट । रौतहटमा सरकारी स्वामित्वको ठूलो क्षेत्रफलको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले महत्वपूर्ण निर्णय गरेको छ । प्रशासनले फतुवा विजयपुर नगरपालिका १० मा रहेको करिब ३० बिघा ४ कट्ठा ७ धुर सरकारी जग्गा पुन: नेपाल सरकारकै नाममा कायम गर्ने निर्णय गर्दै व्यक्तिका नाममा भएका दर्ता बदर गर्ने प्रक्रिया अघि बढाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बसेको बैठकले सरकारी जग्गा निजी व्यक्तिको नाममा दर्ता भएको प्रक्रिया कानूनसम्मत नरहेको निष्कर्ष निकाल्दै सम्बन्धित श्रेस्ता खारेज गर्ने निर्णय गरेको जनाएको छ । यससँगै घटनामा संलग्न व्यक्ति तथा निकायमाथि ठगी र जालसाजीसम्बन्धी कानूनी अनुसन्धान अगाडि बढाउने निर्णय पनि गरिएको छ ।
प्रशासनका अनुसार साबिक फतुवा हर्षाहा गाविस ८ (हाल फतुवा विजयपुर नगरपालिका १०) अन्तर्गत पर्ने साबिक कित्ता नम्बर १ को जग्गा विगतदेखि नै लोसे जंगल, गौचर तथा सार्वजनिक ऐलानी क्षेत्रका रूपमा रहेको थियो । तर पछि मालपोत र नापी कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा उक्त सरकारी जग्गा टुक्र्याएर विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको आशंका गरिएको छ ।
स्थानीयवासीबाट सरकारी जग्गा हडपिएको भन्दै उजुरी परेपछि प्रशासनले घटनाको छानबिन थालेको थियो । अनुसन्धानका क्रममा व्यक्तिका नाममा जग्गा दर्ता गरिएको भनिएको २०२७ सालको निर्णय वा त्यससम्बन्धी कुनै आधिकारिक अभिलेख मालपोत कार्यालय गौर तथा कम्प्युटर प्रणालीमा समेत फेला नपरेको प्रशासनले जनाएको छ । त्यसका आधारमा सम्पूर्ण दर्ता प्रक्रिया गैरकानूनी भएको निष्कर्ष निकालिएको हो ।
निर्णयअनुसार भूमिसुधार तथा मालपोत कार्यालय चन्द्रनिगाहपुरलाई अवैध दर्ता बदर गरी सरकारी अभिलेख अद्यावधिक गर्न निर्देशन दिइएको छ । यस्तै, फतुवा विजयपुर नगरपालिकालाई जग्गाको सीमाङ्कन गरी अतिक्रमण हटाउन, जिल्ला प्रहरी कार्यालय रौतहटलाई ठगी तथा जालसाजीसम्बन्धी अनुसन्धान अघि बढाउन तथा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाई ऐतिहासिक लोसे जंगलको संरक्षण गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।
सरकारी सम्पत्ति संरक्षण तथा भूमाफियाविरुद्ध प्रशासनले चालेको यो कदमलाई रौतहटमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्तिविरुद्धको महत्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ । स्थानीयवासीले पनि सरकारी जग्गा संरक्षणतर्फ प्रशासनले चालेको पहललाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन् ।






