वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका १ मिर्जापुरस्थित एक आँपको बगैचाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार राति करिब १४० किलोग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बल मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बगैचामा लुकाइराखिएको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार गाँजा १३ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको थियो । बरामद गरिएको गाँजा कसले, कहिले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा गाँजा बरामद भएको जानकारी दिँदै घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्य जारी रहेको बताए ।
प्रहरीले लागूऔषध तस्करीमा संलग्न हुन सक्ने व्यक्तिहरूको खोजी गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




