बारा । बाराको करैयामाई गाउँपालिकामा मोटरसाइकलले दुई पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।
शनिबार राति करिब ११ बजे करैयामाई गाउँपालिका ८ अन्तर्गत नरही चोकदेखि इटहरतर्फ जाने सडकमा नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्थानीय उमेश साह सोनार र पवन साह सोनार गम्भीर घाइते भएका थिए । प्रहरी चौकी गञ्जभवानीपुरबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी तत्काल वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा आइतबार राति करिब १:२० बजे उमेश साह सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ । अर्का घाइते विश्रामपुर गाउँपालिका ५ इटियाही निवासी पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ र उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक घटनालगत्तै फरार भएकाले उनीहरूको पहिचान तथा पक्राउका लागि खोजी अभियान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






