सर्लाही । सर्लाहीको बागमती नगरपालिका ५ टेकानीस्थित ससुरालीमा श्रीमतीको हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको धनकौल गाउँपालिका १ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि आफन्तले समयमै साडीको पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए । घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया पुर्याएको थियो ।
सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो । त्यसपछि राति करिब १०:३० बजे थप उपचारका लागि रौतहटको बेटर नेपाल अस्पताल, गरुडामा लगिएको प्रहरीले जनाएको छ । हाल उनको उपचार जारी रहेको छ र स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।






