पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित गोरख दल गण त्रिवेणी बेसमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रमा खानेपानी धारा र विश्रामका लागि चौतारा निर्माण गरिएको छ । सुस्ता गाउँपालिका २ जमुनाबारी निवासी समाजसेवी ज्ञानप्रसाद पाठक (सन्तोष) को व्यक्तिगत आर्थिक सहयोगमा खानेपानी धारा जडान तथा चौतारा निर्माणको कार्य सम्पन्न भएको हो ।
तराई क्षेत्रमा वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीको संख्या बढ्ने गर्दछ । यस्तो अवस्थामा उपचारका लागि टाढा–टाढाबाट आउने बिरामी, उनीहरूका कुरुवा, साथै दिनरात सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वच्छ पिउने पानीको सहज उपलब्धता गराउने तथा बिरामीका आफन्तलाई विश्रामका लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यले पाठकले आफ्नै निजी खर्चमा उक्त पूर्वाधार निर्माण गराएका हुन् ।
आइतबार औपचारिक रूपमा खानेपानी धारा र चौताराको निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइएको छ । यस क्षेत्रमा सर्पदंशका बिरामीका लागि प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको उक्त केन्द्रमा खानेपानी र विश्रामस्थलको व्यवस्था भएपछि उपचारका लागि आउने सेवाग्राही, कुरुवा तथा स्वास्थ्यकर्मीलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ ।
स्थानीयवासीले समाजसेवी ज्ञानप्रसाद पाठकको यस परोपकारी कार्यको प्रशंसा गर्दै यसले उपचार केन्द्रको सेवा थप प्रभावकारी र सेवामैत्री बन्ने बताएका छन् ।






