रौतहट । रौतहटको गरुडा नगरपालिका १ निवासी १० वर्षीय शेख रिजवान मृत अवस्थामा फेला परेका छन् । शेख मंजरका छोरा रिजवान आइतबार साँझ घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार सोमबार दिउँसोसम्म पनि रिजवान घर नफर्किएपछि उनका बुवाले इलाका प्रहरी कार्यालय शिवनगरमा हुलियासहित खोज तलासका लागि निवेदन दिएका थिए ।
खोजीका क्रममा स्थानीयले माधवनारायण नगरपालिका ३ सखुअवा स्थित एकम्मा नहरको कल्भर्टमुनि एक बालक पानीमा घोप्टो परेको अवस्थामा रहेको जानकारी प्रहरीलाई गराएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यको नेतृत्वमा पुगेको प्रहरी टोलीले शव बाहिर निकालेको थियो ।
प्रहरीले मृतकको पहिचान बेपत्ता भएका शेख रिजवानको रूपमा पुष्टि गरेको जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




