वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथिको कुटपिट घटनाको अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वडाध्यक्ष चतुर्वेदीसँगै अंकित पटेल र शैलेश पटेललाई सोधपुछका लागि पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनामा संलग्नताको विषयमा अनुसन्धान भइरहेको पुष्टि गरे ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । कानुनी प्रक्रिया पूरा गर्न उनीहरूलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने तयारी गरिएको छ ।
उता, वडाध्यक्ष चतुर्वेदीको पक्राउप्रति वीरगञ्ज महानगरपालिकाको नगर परिषद्ले आपत्ति जनाएको छ । परिषद्को बैठकले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु अनुचित भएको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
परिषद्ले चतुर्वेदीलाई शीघ्र रिहा नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ । शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड र चिकित्सकमाथिको कुटपिट घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।




