सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर डिजे बाजा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत कुनै पनि कार्यक्रमका क्रममा डिजे बाजा बजाउन नपाइने व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा मंगलबार साँझ जारी विज्ञप्तिअनुसार पछिल्लो समय डिजे बाजालाई लिएर विभिन्न स्थानमा देखिएको विवाद तथा सुनसरीमा भएको तनावपूर्ण घटनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
प्रशासनले प्रतिबन्धको अवज्ञा गर्दै कुनै पनि स्थानमा डिजे बाजा सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले सम्बन्धित उपकरण तत्काल नियन्त्रणमा लिने र आयोजक तथा सञ्चालकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
सर्लाहीमा यसअघि पनि डिजे बाजाको प्रयोग नियन्त्रण गर्न विभिन्न निर्णय र निर्देशन जारी गरिए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्थानीयवासीको भनाइ छ ।
स्थानीयका अनुसार केही समयअघि प्रशासनले कडाइ गरे पनि सदरमुकाम मलङ्गवासहित मुख्य बजार क्षेत्रमा अझै पनि उच्च आवाजमा डिजे बजाउने क्रम पूर्ण रूपमा रोकिएको छैन । यसपटक भने प्रशासनले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने संकेत दिएको छ ।






