रौतहट । सरकारले स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउने नीति लागू गरेको दाबी गरे पनि रौतहटका चार नगरपालिका अझै निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भइरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गर्दै उपसचिव तहका कर्मचारीलाई जिम्मेवारी दिने नीति अघि बढाएको भए पनि वृन्दावन, देवाही गोनाही, बौधीमाई र ईशनाथ नगरपालिकामा उक्त व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन ।
हाल वृन्दावन नगरपालिकामा शाखा अधिकृत श्यामकिशोर प्रसाद, देवाही गोनाहीमा पवनकुमार केशरी, बौधीमाईमा उदयशंकर चौधरी र ईशनाथ नगरपालिकामा महमद नवाज हुसैनले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । कानुनी व्यवस्थाअनुसार भने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव तहको कर्मचारी हुनुपर्ने प्रावधान छ ।
स्थानीयवासीले दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह, सुशासन र विकास निर्माणका काम प्रभावित भएको गुनासो गरेका छन् । बौधीमाई नगरपालिका इनरवारीका विवेक यादवले नियमअनुसारका सामान्य कामका लागि समेत अनावश्यक दौडधुप गर्नुपर्ने अवस्था रहेको बताउँदै यसले प्रशासनिक विकृति हट्न नसकेको टिप्पणी गरे ।
यस्तै, ईशनाथ नगरपालिका–औरैयाका किशोरी यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाले जनप्रतिनिधिको प्रभाव बढ्ने र कानुनी प्रक्रिया कमजोर बन्ने अवस्था सिर्जना भएको दाबी गर्दै सरकारले तत्काल उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने माग गरे ।
बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले भने दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत उपलब्ध गराउन संघीय सरकारसँग पटक–पटक अनुरोध गरिएको जानकारी दिए। उनले अन्य स्थानीय तहसरह आफ्नो पालिकामा पनि स्थायी व्यवस्था गर्न मन्त्रालयलाई निरन्तर आग्रह गरिएको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले सरकारको लक्ष्य सबै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाउने रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी रौतहटका रिक्त स्थानमा पनि उपसचिव तहका कर्मचारी छिट्टै पठाइने बताए ।




