सिरहा । सिरहामा सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले आयोजित सर्वपक्षीय बैठकले अफवाह फैलाउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा बुधबार बसेको बैठकले आन्दोलन, विरोध प्रदर्शन वा अन्य सार्वजनिक कार्यक्रमका क्रममा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लामा सामाजिक सद्भाव सुदृढ बनाउन आवश्यकताअनुसार स्थायी संयन्त्र गठन गर्ने, नियमित रूपमा सर्वपक्षीय बैठक आयोजना गर्ने तथा भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने सहमति पनि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह र उत्तेजनात्मक सामग्री फैलाउने गतिविधिमाथि निगरानी थप कडा बनाइनेछ । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिको विवरण सङ्कलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने निर्णय बैठकले गरेको छ ।
बैठकले जिल्लाका सबै स्थानीय तहलाई राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिको सहभागितामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
सुनसरीको देवानगञ्जमा हालै भएको घटनाप्रति दु:ख व्यक्त गर्दै बैठकले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णय गरेको छ ।
यसैगरी, पछिल्लो समय डिजे तथा अत्यधिक ध्वनि प्रदूषणका कारण जनस्वास्थ्य, विद्यार्थीको पठनपाठन र सामाजिक वातावरणमा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै मापदण्डविपरीत चर्को आवाजमा डिजे तथा ध्वनि उपकरण प्रयोगमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सबै नागरिक, राजनीतिक दल र सरोकारवाला पक्षलाई सामाजिक एकता, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।




