जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्थालाई प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी निर्णयअनुसार सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापनका लागि सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वयलाई थप सुदृढ बनाइनेछ ।
प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, विभिन्न संघ संस्था, धार्मिक अगुवा, बुद्धिजीवी, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणलाई संयमित तथा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
यस्तै, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत अपुष्ट, भ्रामक वा द्वेष, हिंसा तथा अशान्ति फैलाउने सामाग्री प्रसारण वा साझा नगर्न सरकारको आग्रह छ । प्रदेश सरकारले आधिकारिक निकायबाट जारी सूचना र तथ्यमा मात्र विश्वास गर्न नागरिकलाई अनुरोध गरेको छ ।
मन्त्रिपरिषद्ले हालैका घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाएको छ ।
प्रदेश सरकारले शान्ति सुरक्षा कायम राख्ने, सुशासन प्रवर्द्धन गर्ने तथा नागरिकको संवैधानिक अधिकारको संरक्षण गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याएको छ ।




