वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १४ पिपरा चिनिमिल क्षेत्रमा सडक विस्तारसँग जोडिएको सामान्य विवाद अन्तत: एक महिलाको ज्यान जाने घटनामा परिणत भएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी स्थानीय ५० वर्षीया लिलावती देवीको उपचारका क्रममा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ ।
प्रहरीका अनुसार गत असार ३१ गते सडक विस्तारका क्रममा भत्काइएको घरबाट निस्किएको इँटा हटाउने विषयमा स्थानीयबीच विवाद भएको थियो । विवाद चर्किँदै जाँदा मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले लिलावती देवीमाथि कुटपिट गरेको आरोप छ ।
घटनापछि घाइते लिलावतीलाई तत्काल नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। प्रारम्भिक उपचारपछि स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर साउन १४ गते साँझ अचानक उनको स्वास्थ्य अवस्था पुन: बिग्रिएपछि परिवारले फेरि नारायणी अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचार जारी रहेकै अवस्थामा साँझ ७:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उपचारपछि घर फर्किएकी महिलाको केही दिनमै मृत्यु भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले लक्की प्रसाद पटेललाई पक्राउ गरिसकेको छ । अर्का आरोपित मनोज प्रसाद कुर्मी भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिट र मृत्युबीचको सम्बन्ध, घटनाको वास्तविक कारण तथा अन्य कानुनी पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।




