जनकपुरधाम । सुनसरी र सिरहामा हालै भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएपछि युवाहरूको एक समूह स्वत: स्फूर्त रूपमा भेला भई प्रदर्शनमा उत्रिएको थियो । उनीहरूले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले सुनसरी र सिरहामा भएका घटनाले समाजमा गम्भीर चिन्ता उत्पन्न गरेको उल्लेख गर्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताए । उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे ।
युवाहरूले समाजमा शान्ति, सुरक्षा तथा साम्प्रदायिक सद्भाव कायम राख्न राज्य अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने धारणा पनि व्यक्त गरे। साथै, पीडितलाई छिटो र निष्पक्ष न्याय दिलाउन स्थानीय प्रशासनले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग आग्रह गरेका थिए ।




