सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्ति–सुव्यवस्था, अमनचयन र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिक, नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सरोकारवालासँग संयमता अपनाउन आग्रह गरेको छ ।
शनिबार जारी गरेको सूचनामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत माध्यमबाट धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा तथा उत्तेजना बढाउने वा शान्ति–सुरक्षामा असर पुग्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रि–पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अनुरोध गरिएको छ ।
यस्ता गतिविधिमा संलग्न सामाजिक सञ्जाल प्रोफाइलहरूको निगरानी भइरहेको जनाउँदै, यसअघि त्यस्ता सामग्री पोस्ट वा सेयर गरिएको भए तत्काल हटाउन प्रशासनले आग्रह गरेको छ ।
उक्त सूचनामा प्रशासनले आन्दोलनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न पनि सबैलाई सचेत गराएको छ । साथै आन्दोलनमा बालबालिकाको प्रयोग कानुनले निषेध गरेको उल्लेख गर्दै बालबालिकालाई आन्दोलनमा सहभागी गराए सम्बन्धित आयोजकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जोकोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने जनाएको छ ।






