काठमाडौं । वैदेशिक रोजगारीका लागि फ्रान्स र रोमानिया आकर्षक तलबमा पठाइदिने प्रलोभन देखाएर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ३ बस्दै आएका बारा घरका ३३ वर्षीय सागर उप्रेती र रुपन्देही घरका ४५ वर्षीय कृष्णकुमार उपाध्याय रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उप्रेतीले फ्रान्स पठाइदिने भन्दै एक पीडितबाट ९ लाख रुपैयाँ र उपाध्यायले रोमानिया पठाइदिने भन्दै अर्का एक पीडितबाट ४ लाख रुपैयाँ लिएपछि सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको हो ।
अनुसन्धानका क्रममा प्रहरीले उप्रेतीलाई टोखा नगरपालिका १ बाट र उपाध्यायलाई काठमाडौं महानगरपालिका १२ बाट शुक्रबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।




