रौतहट । रौतहटमा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै जाँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले ग्यास डिपो धाउनुपर्ने र घण्टौंसम्म पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
जिल्लाका विभिन्न स्थानमा ग्यासको मौज्दात घट्दै गएपछि धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर डिपो पुगिरहेका छन् । तर, ग्यास उपलब्ध नहुँदा कतिपय उपभोक्ता रित्तै घर फर्किन बाध्य भएका छन् । ग्यास अभावले विशेष गरी वैकल्पिक इन्धनको व्यवस्था नभएका परिवारलाई बढी समस्या परेको छ ।
घरमा ग्यास सकिएपछि दैनिक खाना पकाउनै कठिन भएको उपभोक्ताहरू बताउँछन् । केही परिवारले दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गर्न थालेका छन् भने धेरैले ग्यासको प्रतीक्षामै दिन बिताइरहेका छन् ।
ग्यास व्यवसायीहरूका अनुसार जिल्लामा मागअनुसार आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको हो । नियमित आपूर्ति नहुँदा डिपोमा ग्यास आउनेबित्तिकै सकिने अवस्था रहेको उनीहरूको भनाइ छ ।
यता, उपभोक्ताले बजारमा कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री भइरहेको हुन सक्ने आशंका व्यक्त गर्दै सम्बन्धित निकायसँग प्रभावकारी अनुगमनको माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले भने ग्यासको सहज आपूर्तिका लागि सम्बन्धित निकाय र वितरकसँग समन्वय भइरहेको जनाएको छ । साथै, कृत्रिम अभाव वा कालोबजारी भएको पाइए कानुनबमोजिम कारबाही गरिने प्रशासनको भनाइ छ ।




