सिरहा । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिँदा भएको हिंसा, आगजनी र तोडफोडबाट ठूलो आर्थिक क्षति भएको छ । प्रारम्भिक अनुमानअनुसार गोलबजारका तीनवटा व्यवसायमा मात्रै भवनबाहेक करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
साउन १० गतेदेखि सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको प्रभाव साउन १३ र १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा देखिएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका २ तुल्सीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।
गणेश यादवको मृत्युपछि अवस्था थप तनावग्रस्त बनेको स्थानीयको भनाइ छ । त्यसपछि उग्र बनेको भीडले मुस्लिम समुदायका घर तथा व्यवसायमा आगजनी र तोडफोड गरेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बिहीबार दिउँसो करिब १ बजे गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरसहित करिब २० वटा मोटरसाइकलमा दुईदेखि तीन जनासम्म सवार व्यक्तिहरू गोलबजार प्रवेश गरेका थिए ।
ठूलो संख्यामा आएका केही व्यक्तिले धारिलो हतियारसमेत बोकेको तथा अर्को पक्षलाई गालीगलौज गर्दै ढुंगामुढा सुरु गरेपछि दुई पक्षबीच झडप भएको स्थानीयको दाबी छ । वडा अध्यक्ष अनवरसहित मोटरसाइकलमा गोलबजारतर्फ आइरहेको भिडियो सार्वजनिक भएपछि घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको दाबीसमेत गरिएको छ ।
यता वडा अध्यक्ष अनवरले भने गाउँका युवाहरू बजारतर्फ जान थालेपछि उनीहरूलाई सम्झाउन र आन्दोलन थप नबढोस् भन्ने उद्देश्यले आफू त्यहाँ पुगेको स्वीकार गरेका छन् । उनले भने, “म युवाहरूको आक्रोश नियन्त्रण गर्न त्यहाँ गएको हुँ । हिंसा भडकाउने कुनै पनि गतिविधिमा मेरो संलग्नता छैन ।”
झडप चर्किएपछि प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएपछि भीड नियन्त्रणबाहिर गएको स्थानीयको भनाइ छ । त्यसपछि विभिन्न स्थानमा रहेका मुस्लिम समुदायका घर तथा पसलमा आगजनी र तोडफोड भएको बताइएको छ ।
प्रारम्भिक विवरणअनुसार गोलबजार ६ स्थित नेहाल हार्डवेयरमा सबैभन्दा ठूलो क्षति भएको अनुमान गरिएको छ । स्थानीयका अनुसार भवनबाहेक मात्रै करिब २३ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान जलेर नष्ट भएका छन् ।
त्यस्तै, सिरहा सुपरमार्केट (एबी मल) मा करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक मोहम्मद जफिरले बताएका छन् । उनले भने, “तल्लो तलामा रहेका अधिकांश सामान आगोले पूर्ण रूपमा नष्ट गरिदियो । वर्षौंको लगानी एकैछिनमा खरानी भयो ।”
यस्तै, गोलबजार नगरपालिका ८ चोहर्वा चोकस्थित न्यू असलम वस्त्रालयमा पनि भवनबाहेक करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक अस्लम खानले बताएका छन् ।
उनका अनुसार केही दिनअघि मात्रै दशैं तिहारलाई लक्षित गर्दै करिब २ करोड रुपैयाँ बराबरका कपडा स्टक गरिएको थियो । “चाडपर्वका लागि ल्याइएका सबै सामान जलेर नष्ट भए । दुई पुस्तादेखि गर्दै आएको हाम्रो व्यवसाय मात्र होइन, बस्ने घरसमेत गुमाउनुपरेको छ,” उनले दु:ख व्यक्त गरे ।
करिब ४५ वर्षदेखि चोहर्वा पुरानो चोकमा कपडा व्यवसाय गर्दै आएको आफ्नो परिवार अहिले पूर्ण रूपमा विस्थापित भएको बताउँदै उनले सरकारबाट न्याय, राहत र क्षतिपूर्तिको अपेक्षा रहेको बताए ।
असलमका बुवा आलमगिर खानका अनुसार आगलागीमा पसलभित्र रहेका सम्पूर्ण कपडा, अन्य सामग्री तथा करिब २ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ । आगलागीले तीनतले घरमा समेत क्षति पुगेको र पसलमा कार्यरत पाँच जना कर्मचारीको रोजगारीसमेत गुमेको उनले बताए ।
खानका अनुसार व्यवसाय विस्तारका लागि गोलबजार ११ बलकावास्थित जग्गा धितो राखेर एनआईसी एशिया बैंकबाट २ करोड ८ लाख रुपैयाँ कर्जा लिइएको थियो । आर्थिक समस्याका कारण समयमै कर्जा चुक्ता गर्न नसक्दा बैंकले धितो सम्पत्ति लिलाम गरिसकेको र अझै करिब २ करोड रुपैयाँ दाबी गरिरहेको उनले बताए ।
आर्थिक अभावकै कारण पसलको बीमा गर्न नसकिएको उनको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्युका कारण हालसम्म क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आइतबार बेलुका ७ बजेदेखि कर्फ्यु हटाइएको छ । सोमबारदेखि प्रहरी परिचालन गरी आगजनी तथा तोडफोडबाट भएको क्षतिको विस्तृत विवरण संकलन सुरु गरिनेछ । प्रशासनका अनुसार वास्तविक क्षतिको सरकारी तथ्यांक सार्वजनिक हुन अझै केही समय लाग्नेछ ।




