रौतहट । रौतहटको गरुडा नगरपालिका ९ रघुनाथपुरमा भएको कुटपिट घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिमाथि हालसम्म कानुनी कारबाही अघि नबढाइएको भन्दै पीडित परिवारले आफूहरू असुरक्षित महसुस गरिरहेको बताएका छन् ।
पीडित पक्षका अनुसार साउन ४ गते बिहान गाउँमै भएको आक्रमणमा सुरेन्द्र सहनी, उनकी पत्नी दयावती देवी र छोरी अंशु सहनी गम्भीर घाइते भएका थिए । उनीहरूलाई बाँसको चिरपट, मोटरसाइकलको ‘शकर’ (शक एब्जर्बर) लगायतका सामाग्री प्रयोग गरी निर्घात कुटपिट गरिएको आरोप छ । घटनाका क्रममा नलकटुवा पेस्तोलसमेत प्रदर्शन गरिएको दाबी पीडित परिवारले गरेको छ ।
पीडितका आफन्त रामअयोध्याय सहनीका अनुसार घटनाको अघिल्लो दिन सामान्य विवादपछि स्थानीय रुपेश सहनी, सुदिश सहनी, सुखल सहनी, राजी सहनी र गोलु सहनीले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए । त्यसको भोलिपल्ट उनीहरू समूहमा आएर आक्रमण गरेको उनको आरोप छ ।
घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि गरुडास्थित अनामिका अस्पताल लगिएको थियो । अस्पतालले थप उपचार आवश्यक रहेको बताए पनि आर्थिक अभावका कारण अन्यत्र लैजान नसकिएको रामअयोध्यायको भनाइ छ ।
पीडित परिवारका अनुसार घटनाबारे प्रहरी चौकी बिर्ताले प्रारम्भिक अनुसन्धान गरी इलाका प्रहरी कार्यालय (इप्रका) गरुडामा प्रतिवेदन बुझाए पनि हालसम्म आफ्नो जाहेरी दर्ता नगरिएको छ । उल्टै केही आरोपितलाई नियन्त्रणमा लिएर छाडिएको आरोप उनीहरूको छ ।
रामअयोध्यायले घटनापछि आफूहरू पुन: जाहेरी दिन जाँदै गर्दा आफूसँग रहेको ७० हजार रुपैयाँ नगद र अन्य कागजात समेत लुटिएको दाबी गरेका छन् । त्यसबारे जानकारी गराउँदा पनि आवश्यक कारबाही नभएको उनको आरोप छ ।
पीडित परिवारले प्रहरीकै अगाडि आफूहरूमाथि पेट्रोल खन्याएर आगो लगाइदिने धम्की दिइएको दाबी गर्दै सुरक्षा अभावका कारण प्रहरी चौकी नजिकै रात बिताउनुपरेको बताएका छन् । पछि प्रहरीको सुरक्षा व्यवस्थासहित घर फर्काइएको उनीहरूको भनाइ छ ।
घटनामा संलग्न व्यक्तिविरुद्ध अस्पतालको चिकित्सकीय परीक्षण प्रतिवेदन (मेडिकल रिपोर्ट) समेत पेश गरिसक्दा पनि कानुनी प्रक्रिया अघि नबढाइएको भन्दै पीडित पक्षले अनुसन्धान निष्पक्ष हुनुपर्ने माग गरेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी बसन्त गौतमले भने उक्त घटना इप्रका गरुडाको कार्यक्षेत्रभित्र पर्ने भएकाले आफूले घटनाबारे बुझेर आवश्यक पहल गर्ने बताए ।
उनले कुनै पनि नागरिकले असुरक्षित महसुस गरेमा प्रहरी सुरक्षा दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै घटनाको प्रकृति र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए ।






