रौतहट । राजदेवी नगरपालिकामा अत्याधुनिक स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण गरिएको १५ शय्याको अस्पताल भवन तीन वर्षअघि नै सम्पन्न भयो । स्थानीयले अस्पताल सञ्चालनसँगै आफ्नै नगरमै सहज स्वास्थ्य सेवा पाउने आशा गरेका थिए । तर भवन तयार भएको वर्षौं बितिसक्दा पनि अस्पताल सञ्चालनमा नआएपछि त्यो आशा अझै पूरा हुन सकेको छैन ।
अहिले अस्पतालको भवन मौन साक्षी बनेर उभिएको छ भने स्थानीयवासी सामान्यदेखि जटिल प्रकृतिका बिरामीको उपचारका लागि अझै पनि अन्य पालिका तथा जिल्ला अस्पताल धाउन बाध्य छन् । उनीहरूका अनुसार समयमै उपचार नपाउँदा स्वास्थ्य जोखिम बढ्नुका साथै आर्थिक बोझ समेत थपिएको छ ।
स्थानीय बासिन्दा भन्छन्, अस्पताल सञ्चालनमा नआउँदा बिरामीलाई उपचारका लागि टाढासम्म यात्रा गर्नुपर्ने अवस्था छ । यातायात खर्च, औषधि उपचार र समयको अतिरिक्त भारले विपन्न परिवार झन् बढी प्रभावित भएका छन् । आपत्कालीन अवस्थामा भने समस्या अझ गम्भीर हुने गरेको उनीहरूको अनुभव छ ।
अस्पताल सञ्चालनमा ढिलाइसँगै अर्को प्रश्न पनि उठ्न थालेको छ । स्थानीयका अनुसार अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामाग्री खरिद गर्न नेपाल सरकारले करिब एक करोड रुपैयाँ विनियोजन गरेको भनिए पनि त्यस रकमबाट कुन कुन सामग्री खरिद गरियो, ती सामाग्री अहिले कहाँ छन् र अस्पताल सञ्चालन किन हुन सकेन भन्नेबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन ।
स्थानीयवासीले सार्वजनिक खर्चको पारदर्शितामाथि प्रश्न उठाउँदै अस्पताल निर्माणपछि पनि सेवा सञ्चालन हुन नसक्नु दु:खद भएको बताएका छन् । उनीहरूको माग छ- अस्पताल तत्काल सञ्चालनमा ल्याइयोस्, विनियोजित बजेटको उपयोगबारे सार्वजनिक जानकारी दिइयोस् र स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापनको निष्पक्ष छानबिन गरियोस् ।
राजदेवी नगरपालिकाका बासिन्दाका लागि यो अस्पताल केवल एउटा भवन होइन, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको आशा हो । अस्पताल सञ्चालनमा आए राजदेवी नगरपालिका मात्र नभई आसपासका क्षेत्रका हजारौं नागरिकले आफ्नै क्षेत्रमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
स्थानीयको भनाइमा, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पूर्वाधार निर्माण मात्रै पर्याप्त हुँदैन, त्यसलाई समयमै सञ्चालनमा ल्याएर नागरिकलाई सेवा उपलब्ध गराउनु नै राज्यको वास्तविक जिम्मेवारी हो ।




