धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
सोमबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले खोज तलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका ६ जना, लागुऔषध मुद्दाका ४ जना तथा कुटपिट र लुटपाट मुद्दाका १ जना रहेका छन् । उनीहरूमध्ये एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको थियो ।
केहीलाई ६ महिना कैदसहित २ हजार रुपैयाँ जरिवाना तथा अन्यलाई २० देखि २८ दिनसम्म कैद सजाय सुनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तर निरन्तरता दिइने जनाएको छ ।






