जनकपुरधाम । नेपालको पूर्व–पश्चिम सडक सञ्जालको मेरुदण्ड मानिने महेन्द्र राजमार्गअन्तर्गत सर्लाही, महोत्तरी र धनुषा खण्डको विस्तार कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।
निर्माण सुरु भएको करिब डेढ वर्ष बितिसक्दा भौतिक प्रगति २६ प्रतिशतमा सीमित भएपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चासो व्यक्त गर्दै निर्माण कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिका सभापति तथा सांसद आशिष गजुरेलले निर्माणाधीन सडकको स्थलगत निरीक्षण गर्दै कुनै पनि बहाना नबनाई सम्झौताअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्माण व्यवसायी, परामर्शदाता र आयोजना कार्यालयलाई निर्देशन दिए ।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्म ७४.७५ किलोमिटर सडकलाई एसियाली मापदण्डअनुसार चार लेनमा स्तरोन्नति गर्ने गरी तीन वर्षको सम्झौता भएको थियो ।
तर सम्झौताको आधा समय बितिसक्दा कामको गति निकै सुस्त देखिएको छ । आयोजनाको लक्ष्यअनुसार यस अवधिसम्म कम्तीमा ५० प्रतिशत काम सम्पन्न हुनुपर्ने भएपनि हालसम्म २६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
सभापति गजुरेलले सडक विस्तारमा भएको ढिलाइका कारण सर्वसाधारणले दैनिक यात्रा गर्दा अनावश्यक सास्ती भोग्नुपरेको उल्लेख गर्दै समयमै आयोजना सम्पन्न हुन नसके नागरिकमा विकास आयोजनाप्रतिको विश्वास कमजोर बन्न सक्ने चेतावनी दिए ।
वर्तमान सरकारले महेन्द्र राजमार्ग विस्तारलाई उच्च प्राथमिकतामा राखेकाले अब निर्माणको गति बढाउनुपर्ने उहाँको जोड थियो । कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासका अनुसार अब बाँकी रहेको करिब डेढ वर्षभित्र ७५ प्रतिशत निर्माण कार्य सम्पन्न गर्नुपर्ने चुनौती छ ।
उहाँका अनुसार ७४.७५ किलोमिटर सडकमध्ये बजार तथा बस्ती क्षेत्रमा करिब ११.५ किलोमिटर सडकलाई सर्भिस लेनसहित छ लेन र बाँकी खण्डलाई चार लेनमा विस्तार गरिनेछ । आयोजनाअन्तर्गत ५० वटा पुल, १०२ वटा कल्भर्ट र पाँच वटा ओभरपास निर्माण गर्नुपर्नेछ ।
हालसम्म ६५ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन् भने २८ वटा पुलको सबस्ट्रक्चर निर्माण सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख दासले काम ढिलो हुनुका कारण प्रतिनिधि सभा निर्वाचन, अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्री आपूर्तिमा परेको प्रभाव, आवश्यक माटोको अभाव, विद्युत्का पोल समयमै नसारिनु तथा निर्माणस्थल खाली गराउन भएको ढिलाइलाई औँल्याउनुभयो ।
उहाँका अनुसार लामो प्रयासपछि सडक क्षेत्रमा पर्ने रुख कटान सम्पन्न भए पनि कानुनी प्रक्रिया जटिल हुँदा डिभिजन वन कार्यालयलाई रुख हस्तान्तरण गर्न ढिलाइ भएको छ । त्यस्तै विद्युत्का पोल पूर्ण रूपमा स्थानान्तरण नहुँदा पनि निर्माण कार्य प्रभावित भइरहेको उहाँले बताउनुभयो ।
परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर विनोदकुमार गौतमले आवश्यक निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने र निर्माणस्थल समयमै खाली गराइए बाँकी अवधि भित्रै सम्पूर्ण काम सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष गरी साइड क्लियरको काममा सरकारको थप सहयोग आवश्यक रहेको बताउनुभयो ।
निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन कम्पनी–आरसीसी जेभीका प्रतिनिधि निरञ्जन पुडासैनीले आयोजना सुरु भएको डेढ वर्ष भए पनि रुख कटान सम्पन्न भएको चार महिना मात्र भएकाले अपेक्षित प्रगति देखिन नसकेको दाबी गर्नुभयो । विशेष गरी लट २ अन्तर्गत पर्ने २९ किलोमिटर सडकमध्ये २२ किलोमिटर जङ्गल क्षेत्र भएकाले रुख कटानपछि मात्रै निर्माणले गति लिन थालेको उहाँको भनाइ छ ।
यसैबीच, कमला–ढल्केबर–पथलैया सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत बागमती पुलदेखि पथलैयासम्मको करिब ५५ किलोमिटर सडक विस्तारको ठेक्का प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । पूर्वी खण्डको सुस्त प्रगतिसँगै पश्चिम खण्डको ठेक्का पनि नलाग्दा महेन्द्र राजमार्ग विस्तारको समग्र समयतालिकामाथि प्रश्न उठ्न थालेको छ ।






