वीरगञ्ज । वीरगञ्जमा विगत करिब डेढ सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताले दैनिक सास्ती खेप्नुपरेको छ । ग्यास पाउन बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
देशभर ग्यास आपूर्तिमा कुनै समस्या नरहेको र नियमित रूपमा वितरण भइरहेको नेपाल आयल निगमको दाबी भएपनि वीरगञ्जमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।
गत फागुनमा देखिएको ग्यास अभाव व्यवस्थापन गर्न सरकारले ७.१ किलोग्राम क्षमताको आधा सिलिन्डर वितरण व्यवस्था लागू गरेको थियो । त्यसपछि केही महिनासम्म उपभोक्ताले सहज रूपमा ग्यास पाउँदै आएका थिए ।
तर करिब डेढ साताअघि पुन: पूर्ण सिलिन्डर वितरण प्रणाली लागू भएपछि बजारमा माग एकाएक बढेको र त्यसको प्रत्यक्ष असर आपूर्तिमा परेको व्यवसायीहरू बताउँछन् ।
स्थानीय ग्यास विक्रेताहरूका अनुसार अहिले माग अत्यधिक बढेकाले उपलब्ध ग्यासले उपभोक्ताको आवश्यकता पूरा गर्न सकेको छैन । बिहानदेखि नै ग्यास खोज्ने उपभोक्ताको भीड लाग्ने गरे पनि पर्याप्त आपूर्ति नहुँदा धेरैलाई रित्तो हात फर्किनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
पर्सा जिल्लामा विभिन्न ग्यास कम्पनीहरूले आफ्ना आधिकारिक डिलरमार्फत ग्यास वितरण गर्दै आएका छन् । व्यवसायीहरूका अनुसार आधा सिलिन्डर प्रयोग गरिरहेका अधिकांश उपभोक्ता अहिले पूर्ण सिलिन्डर लिन थालेपछि माग बढेको हो ।
यद्यपि समस्या केवल बढ्दो मागका कारण मात्र नभई आपूर्ति व्यवस्थापनमा देखिएको कमजोरीका कारण पनि उत्पन्न भएको उनीहरूको भनाइ छ । ग्यास अभावले विशेष गरी दैनिक खाना पकाउने काम प्रभावित बनेको छ ।
पछिल्लो समय धेरै घर परिवारले इन्डक्सन चुलो प्रयोग गर्न थालेका भएपनि वीरगञ्जमा सडक विस्तारको कामका कारण विद्युत् आपूर्तिमा पटक–पटक अवरोध हुने भएकाले धेरै उपभोक्ता पुन: एलपी ग्यासमै निर्भर हुन बाध्य भएका छन् । यसले बजारमा ग्यासको माग थप बढाएको छ ।
उपभोक्ताले एलपी ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । दैनिक उपभोगको अत्यावश्यक वस्तु भएकाले यसको अभावले सर्वसाधारणको जनजीवन प्रत्यक्ष प्रभावित भएको उनीहरूको भनाइ छ ।
कृत्रिम अभाव हुन नदिन तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन तत्काल आवश्यक पहल गर्नुपर्ने उनीहरूले माग गरेका छन् । यता नेपाल आयल निगमले भने देशभर पर्याप्त ग्यास मौज्दात रहेको र उद्योगहरूलाई नियमित रूपमा आपूर्ति भइरहेको जनाएको छ ।
निगमले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न उपभोक्तालाई आग्रह गर्दै आएपनि वीरगञ्जसहित विभिन्न स्थानमा ग्यास अभावको समस्या कायमै रहेको देखिएको छ ।






