सिरहा । बिहानको झिसमिसेमै घरबाट निस्केका सर्वसाधारणको हातमा खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डर हुन्छ । उनीहरूको गन्तव्य एउटै, ग्यास डिलर । तर घण्टौँ लाइनमा बसेपछि पनि ग्यास पाइन्छ भन्ने निश्चित छैन । यही दृश्य पछिल्ला केही दिनयता सिरहाका विभिन्न बजार क्षेत्रमा दैनिकजसो दोहोरिन थालेको छ ।
गोलबजार, लहानलगायतका क्षेत्रमा एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ताले दैनिक जीवनमै सास्ती भोग्न थालेका छन् । घरमा खाना पकाउन आवश्यक ग्यास नपाउँदा धेरै परिवार वैकल्पिक इन्धनको खोजीमा लागेका छन् भने कतिपयले छिमेकीसँग ग्यास सापटी माग्नुपर्ने अवस्था आएको बताएका छन् ।
गोलबजार नगरपालिका ४, लहान नगरपालिका ३, रघुनाथपुर चोक तथा सडक डिभिजन कार्यालयअगाडिका ग्यास डिलरहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन देखिन्छ । हातमा खाली सिलिन्डर बोकेर पालो कुरिरहेका उपभोक्ताको एउटै गुनासो छ, घण्टौँ कुर्दा पनि ग्यास पाउने कुनै सुनिश्चितता छैन ।
स्थानीयका अनुसार केही दिनयता नियमित आपूर्ति नहुँदा बजारमा ग्यासको अभाव चुलिएको हो । मागअनुसार आपूर्ति हुन नसक्दा डिलरहरूले पनि सीमित परिमाणमा मात्र ग्यास वितरण गरिरहेका छन् ।
गृहिणी, ज्येष्ठ नागरिकदेखि दैनिक ज्यालादारी गर्ने श्रमिकसम्म ग्यासका लागि लाइनमा उभिन बाध्य छन् । यसले दैनिक कामकाज प्रभावित हुनुका साथै घरायसी व्यवस्थापनमा समेत कठिनाइ थपिएको उपभोक्ताहरू बताउँछन् ।
उपभोक्ताले ग्यास आपूर्तिलाई नियमित र सहज बनाउन सम्बन्धित निकाय तथा ग्यास कम्पनीहरूको ध्यानाकर्षण गराएका छन् । उनीहरूको माग छ, कृत्रिम अभाव हुन नदिई बजारमा पर्याप्त ग्यास उपलब्ध गराइयोस्, ताकि आधारभूत आवश्यकताका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य होस् ।




