रौतहट । अविरल वर्षासँगै रौतहटको लालबकैया नदीमा आएको बाढीले हुलाकी राजमार्गको राजपुर नगरपालिका क्षेत्र जलमग्न बनेको छ । सडक माथिबाट बाढीको पानी बग्न थालेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकहरू ज्यानको जोखिम उठाएर आवतजावत गर्न बाध्य भएका छन् ।
राजपुर नगरपालिका २ फतुवा महेशपुरदेखि राजपुर जोड्ने हुलाकी सडकखण्डको पश्चिम लच्कामा बाढीले सडक पूरै ढाकेको छ । वैकल्पिक मार्गको अभावका कारण दैनिक सयौं यात्रु र सवारी साधनले जोखिमपूर्ण अवस्थामै यही सडक प्रयोग गरिरहेका छन् ।
बाढीका कारण सडकमा पानीको बहाव तीव्र बन्दै गएपछि सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् । घटनास्थलमा खटिएका सुरक्षाकर्मीले यात्रुलाई आवश्यक सहजीकरण गरिरहेका छन् ।
सशस्त्र प्रहरी नम्बर ११ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार बाढीको अवस्थालाई निरन्तर निगरानीमा राखिएको छ । जलस्तर थप बढेमा जनधनको सुरक्षालाई प्राथमिकता दिँदै सडकमा आवतजावत अस्थायी रूपमा रोक्न सकिने तयारी गरिएको उनले बताएका छन् ।
सुरक्षा निकायले डुबान भएको सडकबाट अनावश्यक रूपमा यात्रा नगर्न तथा सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । निरन्तर वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर अझै बढ्न सक्ने आकलन गर्दै स्थानीय प्रशासनले नदी किनारका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्थानीयवासीले भने हरेक वर्ष दोहोरिने डुबानका कारण जनजीवन प्रभावित हुँदै आएको भन्दै हुलाकी राजमार्गको सतह उचाल्ने, प्रभावकारी निकास प्रणाली निर्माण गर्ने र बाढी नियन्त्रणका दीर्घकालीन संरचना निर्माण गर्न सरकारसँग माग गरेका छन् ।






