सर्लाही । सर्लाहीको दक्षिणी भेगमा पर्ने मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा लखन्देहीखोलाको बाँध भत्किएपछि बाढी बस्ती तथा खेतमा पस्दा करिब १,५०० बिघाभन्दा बढी क्षेत्रफलमा भर्खरै रोपिएको धानबाली डुबानमा परेको छ ।
गत सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका ५ छपकैयास्थित बाँध भत्काएपछि पानी किसानका खेतमा प्रवेश गरेको हो । स्थानीयका अनुसार छपकैयामा करिब ८०० बिघा, मलङ्गवा ६ खुटौनामा ५०० बिघा र मलङ्गवा ५ भाडसरमा करिब ३०० बिघा धानखेत डुबानमा परेको छ ।
बाढीका कारण खेतसँगै आसपासका केही घर तथा गोठ समेत प्रभावित भएका छन् । स्थानीयवासीले चार दिनदेखि बस्ती र खेत जलमग्न रहेपनि पानी निकासका लागि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन् । उनीहरूका अनुसार लखन्देहीखोलाबाट वर्षेनि यस्तै समस्या दोहोरिने गरेको छ ।
स्थानीयले पर्याप्त अध्ययनबिनै बाँध निर्माण गरिएकाले पटक–पटक बाँध भत्किने, खोलाले धार परिवर्तन गर्ने र पानीको निकास अवरुद्ध हुँदा डुबानको समस्या झन् गम्भीर बन्दै गएको बताएका छन् । उनीहरूका अनुसार विगत डेढ दशकदेखि हरेक वर्षायाममा कटान र डुबानको पीडा भोग्नुपरेको छ ।
चार दिनदेखि पानीमा डुबेको भर्खरै रोपिएको धान नष्ट हुन थालेपछि किसान थप चिन्तित बनेका छन् । पुनः रोपाइँ गर्न आवश्यक ब्याड र बीउको अभावले उनीहरूलाई थप कठिनाइ भएको छ ।
स्थानीय जनप्रतिनिधिका अनुसार यस वर्ष सिँचाइको पर्याप्त व्यवस्था भएकाले किसानले समयमै धान रोपाइँ सम्पन्न गरेका थिए । तर लखन्देहीको बाढीले खेतबारीसँगै यसै वर्ष निर्माण गरिएको तटबन्धमा समेत क्षति पुर्याएको छ ।
खोलाले हरेक वर्ष धार परिवर्तन गर्ने भएकाले एकातिर बाँध निर्माण गर्दा अर्को क्षेत्रमा कटान र डुबान हुने समस्या दोहोरिँदै आएको उनीहरूको भनाइ छ ।
गाउँपालिकाले छपकैया, शिवनगर, सक्रौललगायत क्षेत्रमा वर्षेनि दोहोरिने डुबान र कटानको स्थायी समाधानका लागि ठूलो बजेटसहित व्यवस्थित तटबन्ध निर्माण आवश्यक रहेको जनाएको छ । स्थानीय तहको सीमित बजेटले मात्रै समस्या समाधान सम्भव नभएकाले संघीय सरकारको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।
बाढीका कारण मलङ्गवा सदरमुकामदेखि भाडसर र खुटौनासम्मको सडक जलमग्न भएको छ । चार दिनदेखि सडकमाथिबाट पानी बगिरहेकाले सदरमुकाम तथा सीमावर्ती भारतीय बजारसम्मको आवागमन समेत प्रभावित बनेको स्थानीयले बताएका छन् ।
बिहिबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छपकैयामा अस्थायी तटबन्ध निर्माण गर्ने प्रयास गरे पनि तीव्र बहावका कारण सफलता मिल्न सकेन । जिल्ला प्रशासनले बाँस तथा अन्य सामाग्रीको व्यवस्था गरेर खेत र बस्तीतर्फ सोझिएको भङ्गालो थुन्ने प्रयास जारी रहेको जनाएको छ ।
यसैबीच, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा दीर्घकालीन समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता सम्बन्धित निकायले जनाएका छन् ।




