सिरहा । सिरहामा प्रहरीले ९१ किलो २५ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा चार जना भने प्रहरीलाई देखेपछि फरार भएका छन् ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ जमुवाटोलका ४३ वर्षीयमोहन साह रहेका छन् । फरार हुनेमध्ये सोही स्थानका ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रहमदेव यादवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकटी गाउँपालिका ४ सिमरास्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गरिरहेको थियो । सोही क्रममा पाँच जना व्यक्ति बोरा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीको टोलीसँग जम्काभेट भएको थियो ।
प्रहरीलाई देखेपछि उनीहरूले बोरा छाडेर भाग्ने प्रयास गरेका थिए । प्रहरीले पीछा गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएपनि अन्य चार जना फरार भएका थिए । नियन्त्रणमा लिइएका साहले बोकेको बोरामा प्रहरीले गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।
उक्त पदार्थ तौल गर्दा ९१ किलो २५ ग्राम रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद पदार्थ परीक्षण तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान अघि बढाएको छ । फरार रहेका चार जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






