महोत्तरी । महोत्तरीमा ग्यास लुकाएर राख्ने र चिनजानका मानिसलाई मात्र बिक्री गर्ने व्यवसायीमाथि प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना जारी गर्दै ग्यास बिक्री गर्ने डिपो, पसल र व्यवसायीले मनपरी गरिरहेको गुनासो आएको जनाएको छ ।
प्रशासनका अनुसार केही व्यवसायीले उद्योग तथा डिलरबाट ग्यास ल्याएर लुकाउने र आफूले चिनेका मानिस, होटल तथा अन्य व्यवसायीलाई मात्र बिक्री गर्ने गरेका छन् । नियमित ग्राहकलाई ग्यास नदिने र बिक्री गर्दा बिलसमेत नदिने गरेको गुनासो आएको छ ।
त्यस्तै, ग्यास बिक्री गरेको विवरण नराख्ने र अनुमति नभएका व्यक्तिलाई समेत ग्यास बिक्री गर्ने गरेको पाइएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ग्यास लुकाएर कृत्रिम अभाव गराउने काम गर्ने व्यवसायीमाथि कारबाही गरिने बताए ।
ग्यासको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायले डिपो, पसल र ग्यास बिक्री गर्ने ठाउँमा अनुगमन गरिरहेका छन् । बजारमा ग्यास पर्याप्त छ कि छैन र कसरी बिक्री भइरहेको छ भन्ने विषयमा पनि निगरानी बढाइएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा सादा पोसाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । उनीहरूले ग्यासको आपूर्ति, भण्डारण र बिक्रीको अवस्थाबारे जानकारी लिने प्रशासनले जनाएको छ ।
प्रशासनले सबै व्यवसायीलाई ग्यास पारदर्शी रूपमा बिक्री गर्न निर्देशन दिएको छ । ग्यास बिक्री गर्दा ग्राहकलाई अनिवार्य रूपमा बिल दिनुपर्ने र बिक्री गरेको विवरण राख्नुपर्ने जनाएको छ ।
चिनजानका मानिसलाई मात्र ग्यास दिने, सर्वसाधारणलाई ग्यास नदिने, सिलिन्डर लुकाएर राख्ने वा ग्यासको अभाव देखाउने काम गरेमा कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ ।
लुकाएर राखिएको ग्यास सिलिन्डर भेटिएमा कानुनअनुसार जफतसमेत गरिने प्रशासनले जनाएको छ । महोत्तरीमा पछिल्लो समय ग्यास पाउन समस्या भएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि प्रशासनले अनुगमन र निगरानी बढाएको हो ।
प्रशासनले उपभोक्ताले सहज रूपमा ग्यास पाउने गरी बिक्री वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ । आगामी दिनमा पनि ग्यासको बिक्री र वितरणमाथि निगरानी जारी राख्ने जनाएको छ ।






