सर्लाही । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै डिजे बजाउन प्रतिबन्ध लगाइएको अवस्थामा आदेशको अवज्ञा गर्दै ठूलो आवाजमा डिजे बजाएको आरोपमा सर्लाही प्रहरीले डिजे जडित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समिति सर्लाहीको निर्णयविपरीत मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी ठूलो आवाजमा डिजे बजाइएको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो ।
प्रहरीले मलंगवा नगरपालिका ९ गोरखकालीबाट डिजे जडित बा १५ च ४२९१ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । गाडीमा जडान गरिएका विभिन्न साउण्ड सिस्टमका सामाग्री समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
डिजेसहित नियन्त्रणमा लिइनेमा हरिपुर नगरपालिका ७ का ५५ वर्षीय जोगेश्वर पण्डित रहेका छन् । उनी डिजे सञ्चालक हुन् । त्यस्तै, बागमती नगरपालिका ४ का २३ वर्षीय जगन्नाथ साह पनि पक्राउ परेका छन् । उनी डिजे जडित गाडीका चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार नियन्त्रणमा लिइएको गाडी, डिजेसम्बन्धी सामाग्री तथा व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण हुने गरी डिजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । आदेशको अवज्ञा गरी त्यस्ता गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।




