बारा । बारामा पूजा कार्यक्रमका लागि स्पिकरको एम्प्लिफायर जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका ७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेली रहेका छन् ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजे सोही स्थानका रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो । पूजामा भजन बजाउन स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी स्पिकर खरिद गरेका थिए ।
गणेशले उक्त स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।
तर, अस्पतालमा दिउँसो १२ बजेर ३८ मिनेटमा इसीसी परीक्षण गर्दा चिकित्सकले गणेशलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी सहायक निरीक्षक (सई) कृष्णनन्दन ठाकुरको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




