रौतहट । बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो ।
दुर्घटनामा गरुडा नगरपालिका ६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन् । दुर्घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै चारवटा सवारी साधन रिजर्भ गरेर घटनास्थल भारततर्फ गएका छन् । बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार रहेको बताइएको छ ।
उनीहरू बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मालवाहक ट्रकको भारतीय नम्बर भने खुल्न सकेको छैन । ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
दुर्घटनाको खबर पाएलगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुन सक्ने देखिएको बताएका छन् ।
यद्यपि दुर्घटनाको वास्तविक कारण खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री रौतहटको गरुडा ६ पोठियाहीका बासिन्दा रहेको बताइएको छ । घटनाको खबरसँगै पोठियाही गाउँ शोकमा डुबेको छ । मृतकका परिवार तथा आफन्तहरू घटनाबारे थप जानकारी लिन र घाइतेको अवस्था बुझ्न भारततर्फ गएका छन् ।
दुर्घटनामा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले माग गरेका छन् । घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण भने आउन बाँकी छ ।






