रौतहट । आँखाको सामान्य जाँचदेखि मोतियाविन्दुको उपचारका लागि रौतहटका नागरिकले वीरगन्ज, भरतपुर वा काठमाडौं धाउनुपर्ने बाध्यता अब क्रमश: हट्ने भएको छ । चन्द्रपुर नगरपालिकामा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध हुन थालेको हो ।
चन्द्रपुर नगरपालिका र काठमाडौंस्थित नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानबीच भएको सम्झौताअनुसार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापना तथा सञ्चालनका लागि दुवै पक्षबीच २० वर्षे सम्झौता भएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत तथा नेपाल प्रहरीका पूर्वडीआईजी पिताम्बर अधिकारी, वरिष्ठ मानव संसाधन प्रबन्धक तथा पूर्वएसएसपी मुकेशकुमार सिंह, वडा नम्बर ५ का अध्यक्ष निलहरी कोइराला, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद पोखरेल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापा, नगर अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तव, स्वास्थ्य संयोजक राजेशकुमार ठाकुरलगायतको उपस्थिति थियो ।
केन्द्र सञ्चालनसम्बन्धी सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ र चन्द्रपुर नगर प्रमुख सञ्जयकुमार काफ्लेले हस्ताक्षर गरेका छन् । हाल वडा नम्बर ५ स्थित नगर अस्पताल परिसरबाट सञ्चालन हुने केन्द्रमा दृष्टि तथा चश्मा जाँच, सामान्य आँखा परीक्षण, टेलि अप्थाल्मोलोजी तथा आकस्मिक आँखा सेवा उपलब्ध हुनेछन् ।
मोतियाविन्दु भएका बिरामीलाई आवश्यक परामर्श दिनुका साथै शल्यक्रियाका लागि सम्बन्धित अस्पतालमा प्रेषण गर्ने व्यवस्था पनि केन्द्रमा गरिएको छ । त्यस्तै, आँखा उपचारसम्बन्धी शिविर सञ्चालन गर्ने तथा सुलभ मूल्यमा औषधि र चश्मा उपलब्ध गराउने योजना रहेको छ । नगरपालिकाले निर्माण गरिरहेको नयाँ भवनमा भविष्यमा केन्द्रका लागि करिब १ हजार ५ सय वर्गफिट क्षेत्रफल उपलब्ध गराउने जनाएको छ ।
विपन्न नागरिकलाई नि:शुल्क उपचार
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत आँखा उपचारबाट वञ्चित हुन नदिन नगरपालिकाले विशेष व्यवस्था गरेको छ । विपन्न नागरिक, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिले नगरपालिकाको प्रमाणित कागजातका आधारमा नि:शुल्क वा विशेष छुटमा आँखा उपचार सेवा लिन सक्नेछन् ।
यसका लागि चन्द्रपुर नगरपालिकाले प्रत्येक वर्ष न्यूनतम ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने व्यवस्था गरेको जनाएको छ । केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा जाँच तथा उपचारका लागि अन्य जिल्लासम्म पुग्नुपर्ने बाध्यता कम हुने नगरपालिकाको अपेक्षा छ ।
अन्य पालिकामा पनि केन्द्र विस्तारको तयारी
तिलगंगा आँखा प्रतिष्ठानले चन्द्रपुरमा मात्र सीमित नरही रौतहटका अन्य स्थानीय तहमा समेत आँखा उपचार सेवा विस्तार गर्ने तयारी अघि बढाएको छ । प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी र वरिष्ठ मानव संसाधन प्रबन्धक मुकेशकुमार सिंहको सक्रियतामा कटहरिया र मौलापुर नगरपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
कटहरियाका नगर प्रमुख अजयप्रकाश जैसवाल र मौलापुरकी नगर प्रमुख रिना कुमारी साहले आ-आफ्नो पालिकामा केन्द्र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रौतहटका विभिन्न स्थानीय तहमा आँखा उपचार केन्द्र विस्तार हुँदै गएमा गाउँ गाउँका नागरिकले आफ्नै पालिकामा नियमित आँखा जाँच तथा उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।
यसबाट आर्थिक अवस्था कमजोर भएका नागरिकलाई टाढा गएर उपचार गराउनुपर्ने बाध्यता घट्नुका साथै समय र खर्च समेत बचत हुने विश्वास गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान र स्थानीय तहबीचको सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रमा आँखा उपचार सेवा विस्तार हुनु नागरिकको आँखा स्वास्थ्यमा पहुँच बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।






