नवलपरासी (बर्दघाट सुस्तापूर्व)। ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका ४ झाँक्रेका बेलबहादुर गुरुङ, देवचुली नगरपालिका १ केउरेनीकी डिलमाया देवकोटा र देवचुली नगरपालिका २ का कुलबहादुर बस्नेत रहेका छन् ।
जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २०८२ वैशाख २४ गतेको फैसलामार्फत उनीहरूलाई जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनीहरू फरार रहेका थिए ।
इलाका प्रहरी कार्यालय रजहर नजिकबाट प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।






