मकवानपुर । हेटौँडा उपमहानगरपालिका १० स्थित बसपार्कमा गाडी पार्किङ गर्ने विषयमा भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार २०८३ साउन २९ गते बिहान करिब ११:३० बजे मनहरी गाउँपालिका १ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहित केही व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर विवाद भएको थियो । विवाद बढ्दै जाँदा धारिलो हतियार प्रहार भएको हो ।
घटनामा मनहरी गाउँपालिका ६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगा सिंहदेवी गाउँपालिका ७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती नगरपालिका २ का ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका ४ का २८ वर्षीय जीवन तामाङ घाइते भएका छन् ।
घाइतेमध्ये गोले र पाख्रीनको अवस्था मध्यम तथा आले मगर र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चारै जनाको हेटौँडामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
घटनापछि प्रहरीले खोज तलास तथा अनुसन्धान अघि बढाउने क्रममा हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा १५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी १ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, घटनामा संलग्न रहेको आशंकामा भक्तपुरको सूर्यविनायक नगरपालिका २ बस्ने ३७ वर्षीय लक्ष्मण विष्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।






