रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एउटा असामान्य राजनीतिक संयोग देखिएको छ । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा लगातार उपप्रमुखमा निर्वाचित परनिया देवी पटेलले दुवै कार्यकालमा नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन् ।
दुवैपटक परिस्थिति भने फरक थियो । पहिलो कार्यकालमा तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेल अख्तियारको कारबाहीपछि निलम्बनमा परेपछि परनिया देवीले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालिन् । दोस्रो कार्यकालमा नगरप्रमुख प्रेमलाल साह कानु दल परिवर्तनका कारण पदमुक्त भएपछि फेरि उनकै काँधमा नगरप्रमुखको जिम्मेवारी आइपुगेको हो ।
स्थानीय तहमा उपप्रमुखको भूमिका कतिपय अवस्थामा प्रमुखको छायामा सीमित हुने गरेको चर्चा भइरहँदा देवाही गोनाहीकी परनिया देवीको राजनीतिक यात्रा भने त्यसको ठीक विपरीत देखिएको छ । निर्वाचित उपप्रमुखका रूपमा काम गरिरहेकी उनी दुवै कार्यकालमा नगरको कार्यकारी नेतृत्व सम्हाल्ने अवस्थामा पुगेकी छन् ।
पहिलो कार्यकाल : अख्तियारको कारबाहीपछि मेयरको जिम्मेवारी
२०७४ सालको स्थानीय तह निर्वाचनमा परनिया देवी पटेल नेकपा माओवादी केन्द्रबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । त्यतिबेला नगरप्रमुखमा धर्मेन्द्र पटेल निर्वाचित भएका थिए ।
तर २०७८ साल फागुन १५ गते नगरप्रमुख धर्मेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा पक्राउ गरेपछि नगरपालिकाको नेतृत्व संकटमा परेको थियो । उपभोक्तामार्फत निर्माण भएको भवनको अन्तिम भुक्तानी दिने क्रममा घुस मागेको आरोपमा उनलाई नगद तथा चेकसहित पक्राउ गरिएको अख्तियारले जनाएको थियो ।
विशेष अदालतले पछि उनलाई धरौटीमा रिहा गरेपनि मुद्दाको अन्तिम किनारा नलागेका कारण उनी निलम्बनमै रहे । त्यसपछि नगरपालिकाको नियमित कार्यसम्पादन अगाडि बढाउने जिम्मेवारी तत्कालीन उपप्रमुख परनिया देवी पटेलको काँधमा आयो । २०७९ को स्थानीय तह निर्वाचनसम्म उनले कार्यवाहक नगरप्रमुखका रूपमा नगरपालिकाको नेतृत्व सम्हालिन् ।
दोस्रो कार्यकाल : मेयरले दल बदलेपछि फेरि परनियाकै काँधमा जिम्मेवारी
२०७९ सालको स्थानीय तह निर्वाचनमा पनि परनिया देवी पटेल उपप्रमुखमै निर्वाचित भइन् । यसपटक भने उनले नेकपा एमालेको टिकटबाट चुनाव जितेकी थिइन् । नगरप्रमुखमा पनि एमालेकै उम्मेदवार प्रेमलाल साह कानु निर्वाचित भएका थिए ।
तर कार्यकालको बीचमै साहले एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा आबद्ध भए । दल परिवर्तन गरेपछि एमालेले निर्वाचन आयोगलाई त्यसबारे जानकारी गराएको थियो ।
आयोगले राजनीतिक दलसम्बन्धी प्रचलित कानुनअनुसार नगरप्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मीको पद रिक्त भएको सूचना प्रकाशित गर्यो ।
२०८३ साल साउन १५ गते आयोगले उनीहरू पदमुक्त भएको औपचारिक जानकारी गराएपछि देवाही गोनाहीको नगरप्रमुख पद पुन: रिक्त भयो । त्यसपछि दोस्रो कार्यकालमा पनि उपप्रमुख परनिया देवी पटेलकै काँधमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी आइपुगेको छ ।
‘भाग्यमानी’ कि असामान्य राजनीतिक संयोग ?
दुई फरक निर्वाचन, दुई फरक कार्यकाल र दुवैपटक नगरप्रमुखको पद रिक्त हुँदा उपप्रमुखकै हातमा नगरको नेतृत्व पुग्नु सामान्य राजनीतिक घटना होइन । पहिलोपटक नगरप्रमुख अख्तियारको कारबाहीपछि निलम्बनमा परे । दोस्रोपटक नगरप्रमुख दल परिवर्तनका कारण पदमुक्त भए । दुवै परिस्थितिमा परनिया देवी कार्यवाहक नगरप्रमुख बन्न पुगिन् ।
त्यसैले देवाही गोनाहीको स्थानीय राजनीतिमा अहिले एउटा प्रश्न चर्चामा छ- परनिया देवी साँच्चिकै ‘भाग्यमानी’ हुन् कि यो केवल असामान्य राजनीतिक संयोग ? जे भएपनि दुई कार्यकालमा दुईपटक नगरको नेतृत्व सम्हाल्ने अवसर पाउने उपप्रमुखका रूपमा पटेलको राजनीतिक यात्रा देवाही गोनाहीको स्थानीय राजनीतिमा रोचक उदाहरण बनेको छ ।
सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता
शुक्रबार कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गर्दै पटेलले संविधानले सुनिश्चित गरेको स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन, समावेशिता र भेदभावरहित सेवा प्रवाहलाई आधार बनाएर नगरपालिकाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा कुनै राजनीतिक दल वा समूहप्रति भेदभाव नगरी सबैको साथ र सहयोगमा काम गर्ने बताइन् । नगरपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले नगरवासीको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
पदभार ग्रहण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पवनकुमार केसरी, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीको उपस्थिति थियो ।






