रौतहट । रौतहट प्रहरीले फैसला कार्यान्वयन तथा सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
साथै, भारतबाट भन्सार छली नेपाल भित्र्याइएका १ लाख ४९ हजार रुपैयाँभन्दा बढी मूल्यका सामानसमेत बरामद गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकाहरू चोरी तथा डाँका, चेक अनादर, कुटपिट तथा गाली बेइज्जतीलगायतका मुद्दामा अदालतबाट फैसला भई फरार रहेका व्यक्ति हुन् ।
पक्राउ परेका १३ जनामध्ये एक जनालाई चोरी तथा डाँका मुद्दामा ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । अन्य प्रतिवादीलाई विभिन्न मुद्दामा जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका १३ जनाको हकमा कुल ४ महिना १९ दिन कैद तथा १६ हजार रुपैयाँ जरिवाना कार्यान्वयन हुने भएको छ । पक्राउ गरिएका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको डीएसपी गौतमले जानकारी दिए ।
भन्सार छलीका सामान पनि बरामद
यसैबीच, रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएका १ लाख ४९ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामानसमेत बरामद गरेको छ । सीमा क्षेत्रमा परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा भन्सार छली ल्याइएका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले फैसला कार्यान्वयनसँगै सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।






